बुझ्नेले कुरा नबुझेपछि !

  • टीएन रेग्मी

पछिल्ला केही दशकको तथ्याङ्क हेर्दा नेपाली समाजले विकास पूर्वाधार, सञ्चार प्रविधिको प्रयोग र राजनैतिक चेतनाका हिसाबले निकै ठूलो फड्को मारेको छ । यतिमात्रै होइन, कानुनी प्रबन्धका हिसाबले समेत नेपाल संसारका धेरै मुलुकभन्दा अगाडि छ । नेपालको संविधानको भोल्युमले पनि बताउँछ कि त्यहाँ धेरै कुरा समेटिएको छ । नागरिक सरोकारका हरेकजसो विषयमा कानुन बनेका छन् ।

अन्तर्राष्ट्रिय सन्धि-सम्झौता, दस्तावेजको अनुमोदनसम्मको जोडघटाउ गर्दा सैद्धान्तिक हिसाबले नेपाल विकसित देशहरुभन्दा कमजोर देखिन्न । तर, तिनको कार्यान्वयनको प्रश्न आउनासाथ निराशा बाहेक केही हात लाग्दैन । महङ्गी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, दण्डहीनता, अपराधका अनेक सूचकले हामीलाई सैद्धान्तिक आधारबाट धेरै पर धकेलिदिन्छन् । व्यवहारमा हाम्रो स्थान कता छ ? भन्नेतर्फ ध्यान दिने हो भने नेपाल भ्रष्टाचारबाहेकका धेरै सूचकको आधारमा पुछारतिरै पर्छ । यसरी दोस्रो पाटोबाट हेर्दा हामीले संसारका तन्नम देशहरुसँग प्रतिस्पर्धा गरिरहेका छौं भन्ने निष्कर्षमा पुग्न धेरैबेर लाग्दैन ।

के यो परिस्थितिबाट उन्मुक्ति पाउनु सम्भव छैन ? यो प्रश्नको सकारात्मक जवाफ आउँछ । हामीले भोगिरहेको समयबाट पार पाउन सकिन्छ । तर, हामी यो अवस्थाबाट गुज्रिनुपर्नाको कारण भने जटिल र बहुआयामिक छन् । हाम्रो सोच, मनोविज्ञान, सामाजिक परिपाटीले जबरजस्ती धकेलेर यहाँसम्म ल्याइपुर्‍याएको हो । समाजका बुझकीहरु, ठूला ठालुहरुकै कारण नेपाली समाज मिसगाइड भएको हो । र, यो अद्यापि चलिरहेकै छ । गीतकार विनोद गौचनका शब्दहरु र स्व. अरुण थापाको आवाज रहेको गीतमा भनिएजस्तै ‘बुझ्नेले कुरा नबुझेपछि’ यस्तै हुन्छ । देश आजको अवस्थामा आइपुग्नुमा दुरदराजका अज्ञानी, अनपढ जनताको कुनै भूमिका छैन । जे भएको छ, बुझ्नेहरुले नबुझेका कारण भएको छ ।

भावनामा बहकिने समाज

पात्रहरुलाई आफु अनुकुल देवत्करण र दानवीकरण गर्नु नेपाली समाजका लागि नौलो विषय होइन । यो समाजको जरैसम्म पुगिसकेको र संस्कारजस्तै बनेको छ । यी पंक्तिहरु लेखिरहँदा बजारमा आएका केही ताजा घटनामा समाज ध्रुवीकृत भइरहेको छ । सामाजिक सञ्जालमा देखिने भीडले बेलाबेला अमुक पात्रहरुलाई प्रधानमन्त्री र राष्ट्रपतिका लागि सिफारिस गरिरहेको हुन्छ । सुशासन, सदाचार, विकाससम्बन्धी बहसमा हरेक पात्रले अरुलाई अर्ती उपदेश दिइरहेको हुन्छ । मुल्य, मान्यता र नैतिकताको पाठ पढाइरहेको हुन्छ । केही पात्रको व्यवहारको प्रशंसा हुन्छ । त्यसले समाजमा रोमाञ्चकता थप्छ । तर, कसैले पनि व्यवहारमा ती पात्रलाई पछ्याउने टन्टो गर्दैन ।

कृष्णप्रसाद भट्टाराईले यौटा छाता र सुराही बोकेर बालुवाटार पसे अनि त्यसैगरी निस्किए । यो उदाहरण दैनिकरुपमा हजारौं सन्दर्भमा दोहोरिन्छ । तर, त्यसको अनुसरण कसैले गर्दैन । बीपी कोइराला, मदन भण्डारीका असल गुणको बयान गरेर समाज थाक्दैन । राजा महेन्द्रको राजनीतिक अभिष्टलाई पन्छाएर उनको दुरदर्शी सोचको प्रशंसा गर्नेहरुको पनि कमी छैन । किर्तिनिधि विष्ट गलत थिए भन्नेहरु भेट्न मुस्किल पर्छ । मोहनचन्द्र अधिकारीको जिन्दगी, मोहन वैद्य, मोहनविक्रम सिंह आदिका राजनैतिक निष्ठामा मानिसहरुले प्रश्न गर्ने ठाउँ भेट्दैनन् । चित्रबहादुर केसीको सादगी शैली, सुशील कोइरालाको सम्पत्ति विवरणमा दुईथान मोबाइलमात्र भएका प्रसङ्ग दैनिक आउँछन् । मानिसहरु ती पात्रका आनीबानी, व्यवहार शत प्रतिशत ठीक भएको ठोकुवा गर्छन् । फेरिपनि त्यसलाई अपनाउने लेठो गर्दैनन् ।

यसो गर्नु ठीक हो । यी यी पात्रहरु ठीक थिए । यस्ता आनीबानी, व्यवहार र संस्कारले समाजलाई हानी गर्दैनन् भन्ने प्रायः सबैलाई थाहा छ । तरपनि देशको हालत सुध्रिँदैन ।

नेतालाई समाजको हितका लागि के गर्नुपर्छ भन्ने थाहा छ । डाक्टरलाई पेशाको निष्ठा थाहा छ । इन्जिनियरलाई आफ्नो कर्मको मर्म पूरापुर जानकारी छ । शिक्षकले कर्तव्य के हो बुझेको छ । कर्मचारीसँग आफुले गर्नुपर्ने र गर्न नहुने कामको फेहरिस्त छ । व्यापारीले के ठीक के गलत भन्ने नबुझ्ने कुरै भएन । समावसेवा गर्छु भन्नेहरुले आफ्नो निर्दिस्ट उद्धेश्य कसरी हासिल हुन्छ भन्ने बुझ्दैनन् भन्नु सर्वथा गलत हुन्छ । फेरिपनि नैतिकताको कसीमा प्राय: सबैजसो कमजोर देखिन्छन् । आखिर यो सबैथोक किन भइरहेको छ ? कारण स्पष्ट छ, बुझ्नेले कुरा नबुझेपछि यस्तै हुन्छ ।

नेताले जनमत र विवेकको दुरुपयोग नगर्ने हो भने, व्यापारीको नियत सही हुने हो भने, शिक्षक, विद्यार्थी अभिभावक, डाक्टर, इन्जिनियर, पत्रकार पेशाकर्मीले पेशाको मर्मलाई आत्मसात गर्ने हो भने समाज यो हालतमा पुग्दैनथ्यो । तर, जे नहुनु त्यही भइरहेको छ । नेपाली समाजमा प्राय: पात्रहरु प्रतिदिन स्वार्थी, आत्मकेन्द्रित, ईर्ष्यालु बन्दै गइरहेका छन् । अनैतिकताको प्रतिस्पर्धा चलिरहेजस्तो देखिन्छ । समाजले अनुशासन र इमानलाई कम महत्व दिएको आभास हुँदै गइरहेको छ ।

अनुशासन र ‘मोरल स्कुलिङ’का कुरा

यौटा पुरानो प्रसङ्ग स्मरण गरौं । भुकम्पले तहस नहस भएको नेपाली जनजीवनलाई आहत बनाउने गरी भारतले नाकाबन्दी लगायो । संविधान घोषणाको विषयमा अत्तो थापेर थोपरिएको नाकाबन्दीको हरेक नागरिकले विरोध गरे । सकेसम्म अवज्ञा गर्ने कोशिस गरे । त्यसैबीच तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले साइकल चढ्न आग्रह गरे । तर, उनकै पार्टीका कार्यकर्ता तेलको जोहो गर्न पेट्रोल पम्प छेउको सडकपेटीमा बिछ्यौना लगाएर सुते ।

स्थानीय तहको चुनावमा माओवादीसँग सहकार्य गरेको तर, त्यसको केही महिनापछि भएको संघीय संसद्‍को चुनावसम्म त्यो गठजोड कायम गर्न नसकेको नेपाली काङ्ग्रेस पार्टीका सभापतिले चितवनका कार्यकर्तामाझ रोष प्रकट गरे, “रेणुलाई भोट हाल भन्दा नमान्ने । प्रचण्डलाई नहाल भन्दा हाल्ने ?”

उता सोही चुनावमा बर्दियाबाट उमेदवारी दिएका नेकपाका नेता बामदेव गौतम ‘आफ्नै कार्यकर्ताद्वारा हराइएको’ तुष बोकेर हिँडिरहेका छन् । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अरिङ्गाल’ बन्न निर्देशन दिएको विषयसमेत कार्यकर्ताले सुनेको नसुन्यै गरिदिएको उदाहरण छ ।
यी प्रसङ्गमा बुझकीहरुले कार्यकर्ता विवेकशील हुन्छन् भन्ने तर्कका आधारमा प्रतिरक्षा गर्ने गर्छन् । तर, सांगठनिक अनुशासन र आज्ञाकारीताको कसीमा यी परिघटनाहरु गम्भीर विषय हुन् । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि हाम्रा नेताहरु आफ्नै कार्यकर्ताको ‘कमान्ड’ गर्न सक्दैनन् । कार्यकर्ताहरु जतापनि बहकिन सक्छन् भन्ने गतिला उदाहरणहरु हुन् यी । उल्लेखित प्रसङ्ग राजनीतिक संस्कारसँग जोडिएका भएपनि अन्य क्षेत्रको हालत पनि योभन्दा खासै फरक छैन । राजनैतिक, प्रशासनिक, शैक्षिक, सामाजिक क्षेत्रको हरेकजसो नेतृत्वले या त मोरल स्कुलिङ र कमान्डको नैतिकता राख्दैन या त्यसको सामर्थ्य छैन । आफु मातहतको संगठन र जनमतलाई अनुशासन अनि नैतिकताको घेराभित्र राख्न तत्‍तत् क्षेत्रको नेतृत्व असफल भएपछि के हुन्छ ? उत्तर बडो स्पष्ट छ, नेपालमा अहिले जे भइरहेछ त्यस्तै हुन्छ ।

समाजको हरेक सदस्य आफुले के गर्ने, के नगर्ने । कुनैपनि काम किन गर्ने, किन नगर्ने ? कुन तरिकाबाट गर्ने भन्ने विषयमा जानकार छ । फेरिपनि समाजले सही दिशा लिन सकिरहेको छैन । हाम्रा परम्परागत मूल्य, मान्यता, संस्कार क्रमश: भत्किँदै गइरहेका छन् । मान्छेहरु आत्मकेन्द्रित हुँदै गइरहेका छन् । अस्वस्थ प्रतिस्पर्धा, अनैतिक व्यवहार र कर्ममा हरदम प्रतिस्पर्धा चलिरहेजस्तो देखिन्छ । सत्मार्गमा हिँड्न चाहने र सत्कर्ममा विश्वास गर्नेहरु नै समाजमा टिक्न गाह्रो भइरहेको छ । यो सबै किन भइरहेको छ त ? कारण उही हो, बुझ्नेले कुरा नबुझेपछि यस्तै हुन्छ ।00

यो सामग्री सेयर गर्नुहोस

0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top